भाद्र-२५, म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग माया बसेकाले दुवै जनाको सहमतिमा करिब १५ महिना लगातार यौन सम्पर्क राख्यौं र दुई महिनापहिले ऊ पनि वैदेशिक रोजगारीमा गयो ।
त्यसयता मैले कसैसँग सम्पर्क राखेकी छैन । हुनत म जोसँग पनि यौनसम्पर्क राख्ने महिला होइन, तर पनि आफ्नो श्रीमानबाहेक माया-प्रेम बस्न गएकाले यस्तो भएको हो ।
यी सबै कुराको निचोड र मेरो मनको खुल्दुली के हो भने अब एक-दुई महिनाभित्रै मेरा श्रीमान् घर आउँदै हुनुहुन्छ । मैले अरू कसैसँग यौनसम्पर्क राखे-नराखेको उहाँलाई थाहा हुन्छ ? थाहा हुन्छ भने कसरी ? थाहा हुँदैन भने कसरी ? के यस्तो कुरा थाहा पाउने कुनै उपाय छ ? के महिलाले आफ्नो यौनचाहना दबाएर राख्नुपर्छ ? गोप्य तरिकाले सम्बन्ध राख्न पाइँदैन ? यो अधिकार महिलालाई छ कि छैन ? (र.)
शाब्दिक अर्थ नै खोज्ने हो भने विवाहेत्तर सम्बन्धले विवाहबाहिरको कुनै पनि सम्बन्धलाई बुझाउनुपर्ने हो, तर विवाह गरिसकेपछि जोडीमध्ये कुनै एकले अर्को श्रीमान् वा श्रीमतीबाहेकका व्यक्तिसँग राजीखुसी यौनसम्पर्क राख्नुलाई बुझाउँछ ।
कतिपयले यसले विवाहभन्दा बाहिरको यौनसम्पर्कलाई मात्र जनाउने बताएका छन् भने कतिपयले यसलाई वैवाहिक सम्बन्धभित्रकै यौन धोका भन्छन् ।
विवाह गर्ने पद्धतिको संस्थागत विकास हुनुभन्दा पहिले विवाहभन्दा बाहिर सम्बन्ध हुने कुरै भएन, तर यसको विकास हुन थालेदेखि नै विवाहेत्तर सम्बन्धको समस्या रहँदै आएको छ । देहव्यापारीसँगको सम्बन्ध, देहव्यापारीले राख्ने सम्बन्ध, बलात्कार, विवाह नगरी साथै बस्ने जस्ता कुरा पनि विवाहेत्तर सम्बन्ध हुन्, तर धेरैजसो स्थितिमा श्रीमान्भन्दा बाहिरको व्यक्तिसँग प्रणयपूर्ण सम्बन्धलाई लिइएको पनि देखिएको छ ।
विवाहेत्तर सम्बन्ध भावनात्मक मात्र पनि हुनसक्छ र शारीरिक मात्र पनि । सामाजमा धेरैजसो चासो शारीरिक सम्बन्धमा गएको देखिन्छ ।
समाजमा यस्तो सम्बन्ध कति व्यापक छ भन्न सजिलो छैन । किन्सेले अध्ययन गर्दा सुरुमा यस्तै ३० प्रतिशतले आफूले विश्वासघात गरेको बताएका थिए भने गहन रूपमा खोजतलास गर्दा थप ३० प्रतिशतले विवाहभन्दा बाहिर सम्बन्ध रहेको कुरा स्वीकार गरेका थिए । यसले के संकेत गर्छ भने विवाहबाहिर सम्बन्ध हुने भए पनि उनीहरू त्यसलाई सहजै स्वीकार गर्दैनन् । एक अध्ययनमा, मध्य तथा उच्च आय भएका ५०-६० प्रतिशत पुरुष तथा ४०-५० प्रतिशत महिलाको बाहिर सम्बन्ध हुने देखिएको छ ।
परपुरुषसँग सम्बन्ध किन ?
सामान्यतः श्रीमान्बाहेक अन्य पुरुषसँगको सम्बन्ध त्यो पनि विशेष गरेर यौनसम्बन्धलाई नै हामीले पर-पुरुषसँगको सम्बन्ध भन्छौं, तर गहन रूपमा हेर्ने हो भने को आफन्त र को परपुरुष भन्न गार्हो हुन्छ, त्यसैले कसलाई ‘पर’ पुरुष भनेर परिभाषित गर्ने भन्ने कुरामा एकरूपता नहुन सक्छ । मायाप्रीति बसेको व्यक्ति एक किसिमले आफन्त नै हुन्छ । कतिपय स्थितिमा श्रीमान् र आफूले जन्माएका सन्तानसँगको मायाभन्दा पनि प्रगाढ माया त्यो व्यक्तिसँग हुनसक्छ ।
वंशजको निरन्तरताका लागि पुरुष र महिलाको जोडी एकैसाथ बस्नुपर्ने आवश्यकताले होला, समाजमा विवाह गर्ने र त्यसलाई संस्थागत गर्ने पद्धतिको विकास भयो । समाजमा विवाहभन्दा बाहिरको सम्बन्धलाई निरुत्साहित गर्न अनेक बन्देज लगाइएको छ ।
त्यसमा पनि महिलाको सन्दर्भमा यो बन्देज अझ कडा किसिमको छ । समाजमा त्यसका विरुद्ध मूल्य-मान्यता नै विकास भएको छ । यस किसिमको कडा सामाजिक बन्देज हुँदाहुँदै पनि श्रीमान्बाहेकका व्यक्तिसँग अर्थात् विवाहेत्तर सम्पर्क किन राखिन्छ भन्ने कुराको जवाफ सजिलो छैन ।
विवाहका क्रममा वाचा गरे पनि विभिन्न कारणले एक-अर्कामा सम्पूर्ण रूपमा समर्पित हुन गार्हो छ । आकस्मिक दुर्घटना वा सांयोगिक घटनाका कारणले विवाहेत्तर यौनसम्बन्ध हुनुभन्दा प्रणयपूर्ण सम्बन्धसहितको विवाहेत्तर यौनसम्पर्कले दम्पतीको सम्बन्धमा अनेकन समस्या ल्याउँछ ।
विवाहेत्तर सम्बन्धको कारण केलाउँदै जाँदा सायद बलियो र सक्षम ‘जिन’ वा वंशाणुलाई सन्तानमा सार्ने जैविक वा प्राकृतिक आवश्यकताका कारणले यसो भएको हुन सक्छ, तर कतिपय स्थितिमा विवाहेत्तर सम्बन्ध आफैंमा समस्या नभएर अन्तरनिहित समस्याको एक लक्षण मात्र हुनसक्छ ।
व्यक्तिअनुसार यौनचाहना फरक-फरक हुन्छ, तर सबैले आफूले अपेक्षा गरेअनुरूपको यौनचाहना पूरा गर्न वा सन्तुष्टि प्राप्त गर्न चाहन्छन् । वैवाहिक सम्बन्धभित्रका यौनसम्बन्धले आफ्ना यौनचाहना पूरा हुने स्थिति रहन्छ कि रहँदैन भन्ने कुरामा यसै भन्न सकिँदैन ।
असन्तुष्टिका साथ बाँच्नुपरेका स्थितिमा विवाहभन्दा बाहिर यौनचाहना पूरा गर्ने उपाय खोज्नु अस्वाभाविक होइन, तर सुखमय वैवाहिक जीवन हुँदैमा विवाहभन्दा बाहिरको सम्बन्ध हुँदै नहुने भन्ने पनि होइन ।
एउटै व्यक्तिसँगको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेममय रहन नसक्नु, प्रेमयुक्त सम्बन्धमा बाँधिन चाहनु, भावनात्मक प्रगाढतामा बाँच्न चाहनुजस्ता कुराले कुनै नयाँ सम्बन्ध स्थापित गर्न प्रेरित गरिरहेको हुनसक्छ । दम्पतीबीच एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुनुजस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्ध स्थापना गर्ने कर्मतर्फ डोर्याउँछ ।
सामान्यतः गहिरो वैवाहिक सम्बन्धमा रहेका व्यक्तिका लागि भावनात्मक सम्बन्ध छुटिसकेपछि मात्र अर्को विकल्प हेर्ने क्रममा विवाहेत्तर सम्बन्ध स्थापित हुनपुग्छ ।
आफंैले रोजेर विवाह नगरिएको स्थितिमा गहिरो भावनात्मक प्रेममय सम्बन्धको विकास नै नभएको हुनसक्छ । यी कुरालाई लैङ्गकि असमानताले थप बल्झाएको हुन्छ । तपाईंको सन्दर्भका भौगिलिक दूरीका कारण अर्को व्यक्तिसँग शारीरिक मात्र होइन, भावनात्मक सामीप्यता पनि अघि बढेको अनुमान लगाउन सकिन्छ ।
विवाहेत्तर सम्बन्ध राखेको संकेत के हुन सक्छ ?
कहिलेकाहीं यो निकै सजिलो र स्पष्ट हुन सक्छ भने कहिले निकै गार्हो ।
श्रीमान्को लामो गैरहाजिरीमा अर्थात् श्रीमान्सँग यौनसम्पर्क नभएको स्थितिमा गर्भ रहन गए अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क भएको सजिलै थाहा पाउन सकिने भयो, तर अन्य कतिपय स्थितिमा भने यौनसम्बन्ध भएको थाहा पाउन सजिलो छैन । अहिले बजारमा उपलब्ध गर्भनिरोधको प्रभावकारी उपायहरूका बारेमा हामीलाई थाहै छ, यौनसम्पर्क मानिसको अति नै गोप्य व्यवहार हो, त्यसमा पनि विवाहेत्तर सम्बन्ध अति गोप्यताका सम्पन्न गरिने भएकाले सुइँको पाउन गार्है हुन्छ ।
यति हुँदाहुँदै पनि वास्तविकता के हो भने यसरी श्रीमतीले अर्को व्यक्तिसँग यौनसम्पर्क राखेको वा अन्तरङ्ग सम्बन्ध राखेको प्रत्यक्ष रूपमा आफैंले देखिरहनुपर्दैन ।
विवाहलाई संस्थागत गर्न समाजले नियम बनाएको हुनाले नै होला, घर-परिवारका सदस्यहरू, छर-छिमेकका नातेदार वा अन्य सदस्य अनि समाजका अन्य व्यक्तिहरूले यस्ता सम्भावित सम्बन्धलाई गहन रूपमा नियालिरहेका हुन्छन् ।
शंकापूर्ण स्थिति हुनासाथ धेरैजसो स्थितिमा उनीहरूबाटै सूचना प्राप्त हुन्छ । यहाँ गोप्यताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यथार्त सार्वजनिक हुनसक्छ र अन्त्यमा श्रीमान्ले पनि थाहा पाउन सक्छन् ।
त्यसबाहेक अन्य केही संकेत पनि देखिन सक्छ । भनिन्छ, प्रत्यक्षभन्दा यस्ता अप्रत्यक्ष लक्षणहरूले यस्ता कुरा बताइरहेका हुन सक्छन् ।
दम्पतीबीचको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेममय रहन नसक्नु, एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनुजस्ता कुरामा ध्यान दिनुपर्छ ।
आनीबानीमा आएका परिवर्तन, सबन्धमा आएको दूरी, साथै बस्ने चाहना नहुनु, बढी समय आफूसँग बिताउन नचाहने, कता र कहाँ गएको भनेर थाहै नहुने, ढाँट्ने, असामान्य रूपमा बढी खर्च हुने तर के कुरामा खर्च गरियो थाहा पाउन नसकिनेजस्ता कतिपय कुराले किटानीसाथ भन्न नसकिए पनि यथार्त स्थिति संकेत भने गरेको हुनसक्छ, तर ठोस प्रमाण नभेटी यसै भन्न सकिँदैन ।
कतिपय स्थितिमा शंकाशंकैले राम्रो सम्बन्ध पनि बिग्रन सक्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ । जसरी महिलालाई उसको श्रीमान्ले अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क राखे-नराखेको थाहा पाउन गार्हो हुन्छ, त्यसरी नै महिलाले पनि अन्य व्यक्तिसँग सम्बन्ध राखे नराखेको थाहा पाउन गार्हो हुन्छ ।
के विवाहेत्तर सम्बन्ध पुरुषले मात्र राख्न पाउँछन् ?
विवाह गरेपछि साथसाथै एक-अर्कामा समर्पित भएर जिन्दगी जिउने अपेक्षा गरिन्छ ।
पुरुषले मात्र विवाहेत्तर सम्बन्ध राख्न पाउने भन्ने कुरा होइन । अपेक्षा दुवैले विवाहेत्तर सम्बन्ध नराखोस् भन्ने गरिन्छ । अर्को पक्ष के पनि हो भने प्रायः सबैजसो समाजमा विवाह-बन्धनभन्दा बाहिर यौनसम्पर्क हुनुले प्राकृतिक रूपमा व्यक्ति त्यसो गर्न सक्षम छ भन्ने कुरामा द्विविधा छैन ।
सक्षम वंशाणुलाई सन्तानमा सार्न पाउनु अधिकार र कर्तव्य दुवै हो, तर समाजको विकास हुँदै गएपछि विवाह र त्यसले जन्माएको सम्बन्धलाई निश्चित नियममा बाँध्न आवश्यक मानियो ।
पुरुष होस् कि महिला, सामाजिक रूपमा विवाहेत्तर यौनसम्पर्क वर्जित मात्र होइन, कानुनी रूपमा पनि विवाहेत्तर सम्बन्धलाई स्वीकार गरिँदैन र त्यसलाई दण्डनीय मानिन्छ ।
यौनचाहना शान्त पार्न अर्को व्यक्तिसँग यौनसम्पर्क नै राख्नुपर्छ भन्ने छैन । हस्तमैथुन वा अन्य वैकल्पिक उपायबाट पनि यौनेच्छा मेट्न सकिन्छ । सामाजिक मान्यता अनि कानुनी नियममा पुरुष र महिलाबीच धेरै असमानता छन् । महिलालाई मात्र होइन, पुरुषलाई पनि विवाहेत्तर सम्बन्ध राख्ने छुट छैन । पुरुष-नारीको असमानताको मूल जरो यौन र यौनिकतामा हुने असमानता हो, जबकि यस विषयमा खासै चर्चा गरिँदैन ।
यौन र यौनिकताका सम्बन्धमा पुरुष र महिलाबीचको असमानता हटाउन सकेको खण्डमा अन्य असमानताका कुरा स्वतः समाप्त हुने थिए ।
परपुरुषसँग सम्बन्ध राख्नैपर्ला ?
यौनसन्तुष्टि पूरा गर्ने कुरा जैविक दृष्टिकोणले स्वाभाविक भएर मात्र पुग्दैन । मुख्य कुरा विवाह-बन्धनमा बाँधिनु सामाजिक उत्तरदायित्व बोक्नु पनि हो । हुनसक्छ, रोजाइ र चाहनाबिना विवाह भएको होस् तर अहिले श्रीमान्, सन्तान अनि तपाईंको घर र माइतीतिरको परिवार अनि सबैभन्दा महत्त्वपूर्ण त आफैंलाई कस्तो असर पर्ला भनेर सोचविचार गर्नुपर्ने हुन्छ ।
कारणवश श्रीमान्सँगको यौनसम्पर्कलाई निरन्तरता दिन नसकिएको स्थिति वा यौन सन्तुष्टि नपाइएको आधारमा नै अर्को व्यक्तिसँग यौनसम्पर्कमा संलग्न हुनुपर्ने बाध्यता हुँदैन ।
हस्तमैथुन गर्न सकिन्छ र त्यसलाई यौन परिकल्पनासँग जोडिए आफूले चाहेको धेरै कुरा कल्पनाभित्र गरेर यौनआनन्द प्राप्त गर्न सकिन्छ । श्रीमान्सँगको सम्बन्ध केही बिगि्रयो भन्दैमा अहिलेका वैवाहिक सम्बन्धलाई के कसो गर्ने भन्ने विषयमा स्पष्ट नभै यौनआवेगमा आएर परपुरुष सम्बन्ध बढाउनु र यौनसम्पर्क राखिहाल्नु बुद्धिमानी हुँदैन । यदि अहिलेको सम्बन्ध स्थायी हुन सक्दैन भन्ने कुरामा पक्का भएपछि मात्र व्यवस्था गरेर मात्र नयाँ सम्बन्ध स्थापनाका लागि कदम चाल्नु उपयुक्त हुन्छ । - नारी नेपालबाट
0 comments:
Post a Comment